स्विस सरकारद्वारा भिएफ़एस ग्लोबललाई काठमाडौंस्थित छाया सेन्टर व्यापारबाट जिम्मेवारीपूर्वक सर्न सिफारिस

भिसा फेसिलितेसन सर्विसेस (भिएफ़एस) ग्लोबल विरुद्ध दुई नेपाली संस्थाहरूले दायर गरेको उजुरीको जवाफमा स्विस सरकारको नेशनल कन्त्याक्त पोइन्ट (National Contact Point – एनसीपी)ले भिएफ़एस ग्लोबललाई काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा रहेको छाया सेन्टरसँगको भाडा करार सम्झौता जिम्मेवारीपूर्वक अन्त्य गर्न सिफारिस गरेको छ।

जुरिकमा मुख्यालय रहेको भिएफ़एस ग्लोबल (VFS Global) विरुद्ध २५ अगस्ट २०२४ मा स्विट्जरल्याण्ड सरकारको आर्थिक मामिला सचिवालय (State Secretariat of Economic Affairs) मातहतको जिम्मेवार व्यापार आचरणको लागि नेशनल कन्त्याक्त पोइन्ट (National Contact Point (NCP) for Responsible Business Conduct) मा उजुरी पेश गरिएको थियो। उजुरीमा भिएफ़एस ग्लोबलले छाया सेन्टरमा आफ्नो संलग्नताको लागि प्रभावकारीरुपमा मानवअधिकारको मुल्यांकन (human rights due diligence) नगरेको र छाया सेन्टरमा निरन्तर कार्यालय सञ्चालन गरी आदिवासी नेवा: समुदायको मानवअधिकारमा नकारात्मक असर पारेकोले जिम्मेवार व्यापार आचरणसम्बन्धि बहुराष्ट्रिय कम्पनिहरूको लागि ओइसीडीका दिशानिर्देशन (OECD Guidelines for Multinational Enterprises on Responsible Business Conduct) को उल्लङ्घन गरेको आरोप लगाइएको थियो।

६ डिसेम्बर २०२४ मा भिएफ़एस ग्लोबलले एनसीपीलाई छाया सेन्टरमा रहेको आफ्नो कार्यालयको भाडा करार सम्झौता नवीकरण नगर्ने र यथाशक्य छिट्टै छाया सेन्टरको परिसरबाट आफ्नो कार्यलय स्थानान्तरण गर्ने निर्णय गरेको लिखित रूपमा जानकारी गराएको थियो। यद्यपि, भिएफ़एसले आजसम्म पनि काठमाडौँमा आफ्नो भिसा आवेदन केन्द्र छाया सेन्टरबाट सञ्चालन गरिरहेको छ। २५ जुन २०२५ मा प्रकाशित उजुरीको अन्तिम वक्तव्य (Final Statement) मा स्विस एनसीपीले भिएफ़एस ग्लोबललाई छाया सेन्टरसँगको भाडा करार सम्झौता जिम्मेवारीपूर्वक अन्त्य गर्न सिफारिस गरेको छ। भिएफ़एसले उजुरीकर्ताहरूसँग वार्ताको प्रस्ताव अस्वीकार गरेकोमा खेद व्यक्त गर्दै एनसीपीले भिएफ़एसलाई भविष्यमा यस्ता वार्तामा भाग लिन पनि सिफारिस गरेको छ।

छाया सेन्टरको निर्माणबाट आदिवासी नेवा: समुदाय र विशेष गरी ठमेलका स्थानीय प्रधान नेवा:हरूको विभिन्न मानव अधिकार उल्लङ्घन भएको छ। परम्परागतदेखि प्रधान नेवा: समुदायको गुठीको स्वामित्वमा रहेको र धार्मिक र सांस्कृतिक प्रयोजनका लागि प्रयोग हुने पुरातात्विक कमल पोखरी र वरपरका गुठी जग्गा अतिक्रमण गरेर छाया सेन्टरको निर्माण भएको छ। गुठी जग्गालाई निजी स्वामित्वमा रूपान्तरण गरी अन्ततः व्यावसायिक परिसर छाया सेन्टरको निर्माण गरिएको वैधतामाथि कानुनी विवाद र विरोधहरू उत्पन्न भएका छन्। अदालती मुद्दाहरू दशकौंदेखि चलिरहेका छन् र सन् २०१४ देखि नेपालको सर्वोच्च अदालतमा हाल विचाराधीन छन्। छाया सेन्टरको निर्माणको विरोधका कारण उजुरीकर्ताहरूसँग सम्बन्धित अभियन्ताहरूले पनि धम्की र उत्पीडनको सामना गर्नु परेको छ।

अत: अन्तिम वक्तव्य (Final Statement) मा एनसीपीले उजुरीकर्ता वा एनसीपी विरुद्ध कुनै पनि प्रकारको धम्की दिन अनुमति नभएको पनि सम्झाएको छ। छाया सेन्टरलाई आर्थिक र प्रतिष्ठामा क्षति पुगेको उल्लेख गर्दै यस उजुरीमाथि एनसीपीको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन (Initial Assessment) फिर्ता लिन अनुरोधसहित छाया सेन्टरको कानुनी सल्लाहकारमार्फत एनसीपीलाई पत्र प्राप्त भएको पनि वक्तव्यमा उल्लेख छ।

एनसीपीले अब यस उजुरी माथिको प्रक्रिया बन्द गरिसकेको भएतापनि भिएफ़एस ग्लोबलले छाया सेन्टरसँगको सम्बन्धबाट कहिले वा कसरी जिम्मेवारीपूर्वक अलग्गिनेछ भन्ने कुरा अझै अन्योल नै छ। यसबाहेक, उजुरीकर्ताका मागअनुसार भिएफ़एस ग्लोबलले छाया सेन्टरसँग सहकार्य गरेर प्रधान नेवा: समुदायको मानवअधिकार हनन हुनुमा आफ्नो भूमिका रहेको पनि स्वीकार गरेको छैन। प्रभावित समुदायको मानव अधिकारमा परेको प्रतिकूल असरलाई कम गर्न आफ्नो प्रभाव प्रयोग गर्न वा समुदायका प्रतिनिधिहरूसँग परामर्श गर्न पनि भिएफ़एस ग्लोबल असफल भएको छ। छाया सेन्टरबाट सर्ने भिएफ़एस ग्लोबलको निर्णयसँगै भावी मुद्दाहरूमा मध्यस्थताको आधार नरहने एनसीपीको ठहर संगै एनसीपीको वार्ता प्रस्ताव भिएफ़एस ग्लोबलले अस्वीकार गरेकोले विगतका प्रभावहरुको उपचार सम्बन्धि पनि कुनै छलफल हुन सकेन।

अगस्ट २०२३ मा छायाँ सेन्टरमा रहेको अर्को बहुराष्ट्रिय कम्पनी मेरियत इन्टरनेसनल (Marriott International) विरुद्ध पनि अमेरिकी परराष्ट्र बिभाग (State Department) मातहतको अमेरिकी एनसीपी (US NCP) मा दायर गरिएको यस्तै उजुरीको जवाफमा अमेरिकी एनसीपीले अझै उजुरी प्रक्रिया पूरा गरेको छैन जबकि मेरियत इन्टरनेसनल अमेरिकी एनसीपीको प्रक्रियामा प्रभावकारी रूपमा सहभागी पनि भएको छैन।

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनर्स्थापना अभियान बारे थप जानकारीको लागि यहाँ टाइमलाइन हेर्नुहोस्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *