भिसा फेसिलितेसन सर्विसेस (भिएफ़एस) ग्लोबल विरुद्ध स्विट्जरल्याण्ड सरकारसंग गरिएको उजुरीको जवाफमा भिएफ़एसले ९ डिसेम्बरमा स्विस सरकारलाई काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा रहेको छाया सेन्टरमा रहेको आफ्नो कार्यालयको भाडा करार सम्झौता नवीकरण नगर्ने र यथाशक्य छिट्टै छाया सेन्टरको परिसरबाट आफ्नो कार्यलय स्थानान्तरण गर्ने निर्णय गरेको लिखित रूपमा जानकारी गराएको छ।
उत्तरदायी व्यापार आचरणसम्बन्धि बहुराष्ट्रिय कम्पनिहरूको लागि ओइसीडीका दिशानिर्देशन (OECD Guidelines for Multinational Enterprises on Responsible Business Conduct) अन्तर्गत नेपालका दुई व्यक्तिले भिएफ़एस विरुद्ध पेश गरेको उजुरीको १८ डिसेम्बरमा प्रकाशित प्रारम्भिक मुल्यांकन प्रतिवेदनमा स्विस सरकार मातहतको नेशनल कन्त्याक्त पोइन्ट (National Contact Point – एनसीपी) ले भिएफ़एसको निर्णय सम्बन्धि उल्लेख गरेको छ। एनसीपीले सो उजुरी दर्ता गरी उजुरीकर्ताहरू र भिएफ़एसबीच मध्यस्थताको लागि प्रस्ताव गरेको छ। यद्यपि, यदि भिएफ़एसको लीज सम्झौता समाप्त हुन्छ र छाया सेन्टरबाट भिएफ़एस स्थानान्तरण हुन्छ भने भिएफ़एसको छाया सेन्टरसंग भूमिका नरहने र मध्यस्थताको आधार पनि नरहने र उजुरी बन्द हुने स्विस एनसीपीको निष्कर्ष छ।
परम्परागतदेखि प्रधान नेवा: समुदायको गुठीको स्वामित्वमा रहेको र धार्मिक र सांस्कृतिक प्रयोजनका लागि प्रयोग हुने पुरातात्विक कमल पोखरी र वरपरका जग्गा अतिक्रमण गरेर निर्माण गरिएको छायाँ सेन्टरसंग भिएफ़एसको संलग्नतासँग सम्बन्धित उजुरी गत अगस्तमा स्विस एनसीपीमा पेश गरिएको थियो। सो जग्गालाई अवैधानिक रुपमा निजी स्वामित्वमा परिणत गरिएको विषयलाई लिएर कानुनी विवाद रहेको छ र दशकौंदेखि चलिरहेको अदालती मुद्दाहरू २०१४ देखि हाल नेपालको सर्वोच्च अदालतमा विचाराधीन छन्। छाया सेन्टरको निर्माणको विरोधका गरेका कारण अभियन्ताहरुले धम्की र उत्पीडनको सामना पनि गर्नु परेको छ।
उजुरीमा भिएफ़एसले छायाँ सेन्टरमा आफ्नो संलग्नताको लागि प्रभावकारीरुपमा मानवअधिकारको मुल्यांकन (human rights due diligence) नगरेको र छायाँ सेन्टरमा निरन्तर कार्यालय सञ्चालनगरी आदिवासी नेवा: समुदायको मानवअधिकारमा नकारात्मकअसर परेको आरोप लगाइएको छ। उजुरीकर्ताहरूले निम्न कुराहरूको माग गरेका छन्: (१) भिएफ़एसले छायाँ सेन्टरसँग सहकार्य गरेर प्रधान नेवा: समुदायको मानवअधिकार हनन हुनुमा आफ्नो भूमिका रहेको स्वीकार गर्न पर्ने; (२) भिएफ़एसले प्रभावित समुदायसँग परामर्श गरी छायाँ सेन्टरसँगको सम्बन्धको अस्थायी वा स्थायीरुपमा निलम्बन गर्ने लगायतका उपाय मार्फत छायाँ सेन्टरका मानव अधिकार विरोधी कार्य रोक्न आफ्नो प्रभाव प्रयोग गर्न पर्ने, र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरूको सम्मान सुनिश्चित गर्न पर्ने; र (३) भिएफ़एसले सम्भावित प्रतिशोधको सामना गरिरहेका अभियन्ताहरुको सुरक्षा गर्न पर्ने।
स्वीस एनसीपीको प्रतिवेदन पुरा पढ्न यहाँ क्लिक गर्नुहोस्।
स्वीस एनसीपीको वेबसाइटमा यस मुद्दा बारे थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।
छायाँ सेन्टरमा रहेको अर्को बहुराष्ट्रिय कम्पनी मेरियत इन्टरनेसनल (जसको फ्रंचैज अलफ्त होटेल त्यहाँ संचालित छ) विरुद्ध पनि अमेरिकी सरकारमा गत साल अगस्तमा सोही प्रकृतिको उजुरी दर्ता भइ अमेरिकी सरकारको सम्बन्धित निकाय अन्तर्गत हाल अनुसन्धानको चरणमा छ।
ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनर्स्थापना अभियान बारे थप जानकारीको लागि यहाँ टाइमलाइन हेर्नुहोस्।