गाउँमा बिजुली पुगेपछि मुस्कुराएको चेपाङ बस्ती (तस्वीरसहित)

थाहा खबरको लागि श्रीजना नेपालको रिपोर्टिंग, चैत २१, २०७८

हेटौैडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बत्ती पुगेको छ।

अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा पहिलो पटक बिजुली बत्ती पुगेको हो। पूर्व–पश्चिम राजमार्गबाट करिब ३५ किलोमिटर मात्र भित्र रहेको सो स्थानमा हालसम्म बिजुली पुगेको थिएन। बत्ती नभएकोले त्यहाँका चेपाङ समुदाय सल्लाको दियालो बालेर घर उज्यालो पार्ने गर्थे।

तर आइतबार गाउँमा बत्ती बाल्न पेल्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङ समुदायका घरको अँध्यारो हटेको छ। सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेल्ट्रिक सेट आइतबार सञ्चालनमा आएको छ। ४ किलोवाट क्षमताको पेल्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय हर्षित भएका छन्।

पेल्ट्रिक सेट उद्घाटनमा आएका चेपाङ समुदाय बत्ती बाल्न सल्लाको दियालो बनाउनुपर्ने बाध्यता हट्यो भन्दै खुशी देखिन्थे। पेल्ट्रिक सेट उद्घाटनमा ६ महिनाको बच्चा काखमा च्यापेर आइपुगेकी विष्णुमाया चेपाङ बेलुकाबाट घरमा बत्ती बल्ने भयो भन्दै खुशी देखिन्थिन्। घरमा हालसम्म बत्ती नहुँदा उनलाई बिहान बेलुकाको घरधन्दा छिन्नै मुस्किल पर्थ्यो।

‘बिहान मेलामा जाँदा अँध्यारैमा उठेर घरधन्दा गर्नुपर्नी हुन्छ। तर बत्ती नभएकोले साह्रै गाह्रो हुने गरेको थियो। बेलुका पनि मेलापातबाट आउँदा सधैं दियालो बाल्न  सल्ला खोजेर ल्याउनु पर्थ्यो’ ,उनले भनिन्, ‘अब त हाम्रो घरमा पनि बत्ती बल्ने भयो।’ उनको आँखामा खुशी प्रस्टै देखिन्थ्यो।

उनीसँगै उभिएकी राममाया चेपाङको अनुहारमा पनि छुट्टै चमक देखिन्थ्यो। बत्ती नभएकोले मेलापात जाँदा पनि उनी खाना पकाउन अँध्यारो हुन्छ भन्दै हतारिँदै घर आउने गर्थिन् । तर,गाउँमै पेल्ट्रिक सेट जडान भएर घरमा बत्ती बल्ने भएपछि उनको खुशीको सीमा नै थिएन। ‘अब अँध्यारो हुन्छ भनेर हतारिनु पर्दैन’, उनले भनिन्, ‘अँध्यारो हुन्छ भनेर चाँडै खाना खाएर सुतिहाल्नु पनि पर्दैन। अब सबै काम बिस्तारै गर्न सकिन्छ।’ गाउँमा बत्ती बल्ने बनाइदिएको भन्दै उनले गाउँपालिकालाई धन्यवाद् समेत दिइन्।

स्कुलबाट हाफ टाइममा ड्रेसमा नै कार्यक्रमस्थल आइपुगेका बालबालिका पनि घरमा बत्ती बल्ने भएपछि निकै खुशी भएका थिए। घरबाट स्कुल टाढा भएकाले त्यहाँको बालबालिकाको दिन स्कुल आउजाउमा नै बित्ने गर्छ। साँझ घर आइपुगेपछि पनि घरको काम गर्नुपर्ने भएकाले उनीहरुले पढ्न पाउँदैनन्। राति बत्ती नभएपछि झन् पढ्न सक्ने कुरै भएन।

‘अब त रातीभरि आफूलाई मन लागुन्जेल पढ्न पाइने भयो’,अन्जना चेपाङले भनिन् । उनले खाना पकाउन अँध्यारो हुन्छ भन्दै स्कुलबाट हतारिएर आउन पनि नपर्ने भन्दै खुशी व्यक्त गरिन्। बत्तीकै कारण आफूहरू पढाईबाट वञ्चित हुनुपर्ने दिनको अन्त्य भएकोसमेत उनले सुनाइन्।

आर्थिक रुपमा सबल केहीले घरमा सोलार जडान गरेको भएपनि गरिबीको मारमा परेका अधिकांश चेपाङ समुदाय वर्षौदेखि बत्तीबिनाको अँध्यारोमा जिन्दगी चलाउँदै आएका छन्। अनिकाल र भोकमरीका कारण पेट भर्न जंगली कन्दमूलको भर पर्नुपर्ने त्यहाँका चेपाङ उज्यालो खोज्न पनि जंगल नै जाने गरेका थिए।

जंगलमा पाइने सल्लाको सुकेको काँठलाई दियालो बनाएर उनीहरू बत्ती बाल्ने गर्थे। राक्सिराङ गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँपालिकामा नै अहिलेसम्म विद्युत प्राधिकरणमार्फत बिजुली बत्ती पुगेको छैन। गाउँपालिकाको केही स्थानमा यस्तै पेल्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय ठाउँका चेपाङ समुदाय अझै पनि अँध्यारोमा नै बस्न बाध्य छन्।

अध्यक्ष मल्लले गाउँपालिकाभरि करिब २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार सो पेल्ट्रिक सेटबाट केही वडाका घरधुरीलाई बत्ती पुगेको भएपनि अझै केही वडा अँध्यारोमा नै बस्न बाध्य छन्। ‘बत्ती नभएकोले यहाँका चेपाङ समुदायलाई धेरै समस्या थियो। त्यसैले अहिले केही घरधुरीलाई हुने गरि पेल्ट्रिक सेट सञ्चालनमा ल्याएका छौं’, उनले भने। अध्यक्ष मल्लले बत्ती नभएका कारण पनि उक्त स्थानका चेपाङ समुदाय पछि पर्दै आएको सुनाए। 

कुल २३ लाख रूपैयाँ लागतमा जडान भई सञ्चालनमा आएको पेल्ट्रिक सेटका लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रूपैयाँ खर्चिएको छ। बाँकी ४ लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरेका छन्। २०७७ साल पुसमा शुरु भएको निर्माण १६ महिनामा सकिएर सञ्चालनमा आएको सञ्जालका कार्यकारी निर्देशक प्रविन्द्र शाक्यले जानकारी दिए।

श्रोत: थाहा खबर


Leave a Reply

Your email address will not be published. Required fields are marked *