वि.सं. २०८१ चैत १५
जलविद्युत आयोजनाहरुको सन्दर्भमा आदिवासी माझी समुदायको अधिकार विषयक यस तालिम पुस्तिकाले आदिवासी माझी समुदायलाई सशक्त बनाउनको लागि एक बृहत् स्रोतको रुपमा काम गर्ने उद्देश्य लिएको छ । यसले जलविद्युत परियोजनाहरूको प्रभावको सन्दर्भमा समुदायको अधिकारको वकालतको लागि जनचेतना अभिबृद्धि र क्षमता विकासको लागि तत्काल रहेका आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । यो पुस्तिका माझी समुदायका अगुवा, अधिकार प्रतिरक्षक र अन्य मानवअधिकार तथा आदिवासी अधिकार प्रतिरक्षकहरूलाई सुनकोशी–३ र दुधकोशी जलविद्युत आयोजनाहरूको सम्बन्धमा बुझाई वृद्धि, अन्तर्राष्ट्रिय र राष्ट्रिय कानून अन्तर्गत आदिवासी जनजातिको अधिकारको प्राविधिक ज्ञान, व्यवहारिक वकालत, तालिम र जनचेतना अभिबृद्धिका लागि सीप विकासमा सहयोग गर्न तयार पारिएको छ ।
७ वटा मुख्य खण्डहरूमा विभाजित यो पुस्तिका आदिवासी माझी समुदायको परिचय र वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) प्रतिवेदन वा विभिन्न स्रोतहरूबाट सार्वजनिक रूपमा उपलब्ध अन्य जानकारीको आधारमा दुई प्रमुख जलविद्युत आयोजनाहरूको सिंहावलोकनबाट सुरु हुन्छ । यसमा ती आयोजनाहरूले विशेष गरी भूमि र जीविकोपार्जनमा असर, भूमिबाट विस्थापन, सांस्कृतिक प्रभाव र वातावरणीय प्रभावको सन्दर्भमा माझी समुदायलाई कसरी असर पार्छ भनेर प्रकाश पारिएको छ । त्यसपछिका खण्डहरूमा आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र (युएनड्रिप) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आदिवासी जनजाति सम्बन्धि महासंन्धि १६९ जस्ता अन्तर्राष्ट्रिय कानुनमा प्रत्याभूत आदिवासी जनजातिका विशेषतः आत्मनिर्णय, भूमि, क्षेत्र र स्रोतसाधन, स्वतन्त्र, पूर्व र जानकारी सहितको मञ्जुरी (एफपिक) र विकास लगायतका अधिकारका साथै नेपाली कानून अन्तर्गत व्यवस्था गरिएका सम्बन्धित व्यवस्थाहरुको बारेमा विश्लेषण गरिएको छ ।
त्यसबाहेक यस पुस्तिकाले प्रयोगकर्ताहरूलाई दस्तावेजीकरण, मिडियाको प्रयोग र समुदाय परिचालनका तरिका लगायतका मानव अधिकार वकालतका रणनीतिहरुमा जोड दिँदै आवश्यक सीप र विचार गनुपर्ने कुराहरूको ज्ञान प्रदान गर्न खोजेको छ । त्यसपछिको एक खण्डमा अन्तर्राष्ट्रिय स्तरमा अधिकार पैरवीको लागि एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय वित्तिय संस्था वा दातृ निकायका नीति र उजुरी संयन्त्रको प्रयोग सम्बन्धि पनि चर्चा गरिएको छ । अन्तमा जनचेतना अभिवृद्धिका लागि प्रशिक्षण सम्बन्धि सैद्धान्तिक जानकारी तथा योजना निर्माण, कार्यक्रम सञ्चालन र मूल्याङ्कन सहित प्रभावकारी प्रशिक्षण तालिम सञ्चालन गर्ने व्यवहारिक पक्षहरू पनि यस पुस्तिकामा छलफल गरिएको छ ।
यो पुस्तिका माझी समुदायको लागि विकसित हुँदै गइरहेका चुनौती र प्राथमिकताहरूलाई सम्बोधन गर्न सामूहिक सशक्तिकरण र दिगो पैरवीका प्रयासहरूलाई बढावा दिन डिजाइन गरिएको गतिशील साधन हो ।